बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडाैं । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन हुन थालेपछि प्रदेश राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना प्रकाशित गरी चैत ५ गते बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको जनाइएको छ।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा दैनिक प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।
यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०७९/१२/५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवत जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धिन सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’
स्थानीय प्रशासनले प्रदेश सभा भवनको पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरिको तीन सय मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
त्यस्तै, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा उल्लंघन गरेमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ।