‘हाइ प्रोफाइल’ व्यवसायीसहित नौ कम्पनीलाई सफाइ 

काठमाडाैं । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित १८ जना र नौ कम्पनी विरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ।

‘हाई प्रोफाइल’ व्यवसायी समेत मुछिएको एक अर्ब २४ करोड ४५ लाख बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू रमेशप्रसाद पोखरेल, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले सफाइ दिएको हो। २०७८ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

तोकिएको परिमाणभन्दा बढी चुनढुंगा उत्पादन गरेका सिमेन्ट कम्पनीसँग एक अर्ब २६ करोड १९ लाख जरिवाना असुल गर्नुपर्नेमा १८ लाख रुपैयाँमा मात्रै जरिवाना लिएर सरकारी राजस्व घाटा घराई महानिर्देशक घिमिरेले भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो।

त्यसै गरी खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक जयराज घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इन्जिनियर प्रशान्त बोहरा, जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिस्ट सौनक भण्डारीलाई पनि भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो।

स्वीकृत परिणामभन्दा धेरै चुनढुंगा उत्खनन गर्ने तथा वातावरणीय संरक्षणलाई बेवास्ता गर्ने सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स, मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाइट चुनढुंगा कम्पनी तथा यसका सञ्चालक विरुद्ध पनि राजस्व चुहावटसहित भ्रष्टाचारको अभियोग लगाइएको थियो।

सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने विरुद्ध १६ करोड ३१ लाख, सिद्धार्थ मिनरल्सका पशुपति मुरारका विरुद्ध ४९ करोड ४५ लाख, मारुती सिमेन्टका शरद गोयल विरुद्ध २० करोड ५० लाख, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल विरुद्ध ११ करोड १७ लाख, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डेविरुद्ध एक करोड ७९ लाख, युनाइटेड सिमेन्टका नरेश दुगड विरुद्ध नौ करोड ६९ लाख, सोनापुर मिनरल्सका निपेश तायल विरुद्ध ६ करोड ९८ लाख बिगो दाबी सहित मुद्दा दायर भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *