रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

काठमाडाै । जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन्। नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिमा जसपा सांसद पर्मिला कुमारीले पनि उम्मेदवारी दिएकी थिइन्। निर्वाचनअघि नै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाएकी थिइन्।

उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन्। उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले मतदान गरेका हुन्। उनीहरूको कुल मतभार ५२ हजार ६२८ छ। कुल मतभारतको बहुमत अर्थात २६ हजार ३१४ मतभारभन्दा बढी मतभार प्राप्त गरेर यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत गठबन्धनमा रहेका दलहरूले समर्थन गरेका थिए।

उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा-२ बाट निर्वाचित भएको थिए। प्रतिनिधि सभामा जसपा संसदीय दलको नेता पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *