दुर्गा प्रसाईं एमालेबाट निष्कासित

काठमाडौँ । नेकपा एमालेले  केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ । शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कुनै समय माओवादीनिकट रहेका प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।

चितवनको सौराहामा भएको दसौं महाधिवेशनमा उनले आफ्नो जयजयकार गर्न युवाको टोली परिचालन गरेका थिए । महाधिवेशनको हलबाटै उनी केन्द्रीय सदस्य बन्न चाहन्थे तर अनुकूल भएन । पछि केन्द्रीय सदस्यमा मनोनीत प्रसाईंले अध्यक्ष ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको भूमिका पाएका थिए ।

मंसिरमा भएको निर्वाचनपछि भने प्रसाईंको सक्रियता परिवर्तन भएको छ । उनले राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहेका छन् । उनले गत सोमबार झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका छन् । परिवारसहित झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाअभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए ।

माओवादी सशस्त्र विद्रोहको समयमा ६ महिना सैनिक हिरासतमा परेका प्रसाईंको छवि विवादास्पद रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *