राष्ट्रपतिको उम्मेदवारमा सहमति नबने पछि राप्रपाले सरकार छाड्यो

काठमाडौं। सत्ता गठबन्धनको समीकरण परिवर्तन हुने निश्चित देखएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। गत पुस १० मा एमालेको संयोजनमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित केही पद लिएर सरकारमा गएको राप्रपाले राष्ट्रपति निर्वाचन सन्दर्भमा नयाँ समीकरण बन्ने निश्चिित भएपछि सरकार छाड्न लागेको हो। सम्भवत एमाले समेत सरकारबाट बाहिर बस्ने छ।

आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिएका हुन्।

केन्द्रीय सरकारमा समीकरण फेरबदल हुनेवित्तिकै प्रदेशमा पनि सोहीअनुसार हुने पक्का छ। अहिले सत्तामा रहेका दलले सरकार छाड्नासाथ नयाँ समीकरण अनुसारकै प्रदेश सरकारमा समेत समीकरण बदलिने छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गएको पुस १० मा एमालेको संयोजनमा सरकारको नेतृत्व पाउँदा राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वचन दिएको भनिएको थियो। तर यसवीच दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्तामा बसेपनि त्यसमा सहमति जुटाउन असमर्थ देखिए। दाहालले नेपाली कांग्रेसलाई नै राष्ट्रपति पद दिन प्रयाश गरिरहे र हिजो शुक्रबारको बैठकमा त्यसमा सहमति जुट्यो। आज नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई नयाँ गठबन्धनको सर्वसम्मत उम्मेदवारका रुपमा मनोनय दर्ता गर्ने तयारी भएको छ।

यता नेपाली कांग्रेसको कार्यसम्पादन समितिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।

देशको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *