सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शुन्य र विशेष समयमै सिमित

काठमाडौं। सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शुन्य र विशेष समयमा नै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरिरहेका छन् । वर्तमान संसद प्राविधिक कुराहरुमा अल्झिँदा संसदीय अन्य गतिविधिहरु हुन सकेका छैनन् ।

संसद सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनैपनि विधेयक नल्याएको बताए । उनले अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएका मध्ये सम्पती शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक दर्ता भएपनि अन्य कुनैपनि विधेयकहरु सरकारले संसद सचिवालयमा दर्ता नगराएको बताए ।

उनले संसदमा बिजनेस सरकारले दिने भएकाले सरकारले दर्ता गरेको अवस्थामा विधेयकहरु सचिवालयमा आएर रोकिने अवस्था नरहेको स्पष्ट पारे । उनले हालसम्म प्रतिनिधि सभामा ४ वटा विधेयक र राष्ट्रिय सभामा ९ वटा विधेयक विचाराधिन अवस्थामा रहेको बताए । उनले प्रतिनिधि सभामा सम्पती शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका साथै राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा सन्देशसहित तीन वटा विधेयक रहेको उल्लेख गरे । उनले प्रतिनिधि सभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेस भइसकेको पनि बताए ।

यता नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले संसदलाई बिजनेस दिन नसकेको बताए । उनले सरकारले ससद कहिलेसम्म चल्ने हो भन्ने सुनिश्चितता दिन नसकेकाले सांसदहरुले संसदमा आएका विधेयकहरुमा ध्यान दिन नसकिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *