माधव नेपाललाई राष्ट्रपति बन्न ओलीको प्रस्ताव

काठमाडौं। राष्ट्रपतिको निर्वाचनमा मुख्य दलहरुवीच भैरहेको चर्को प्रतिष्पर्धाले नयाँ समीकरणको सम्भावना बढाएर लगेको देखिएको छ। सत्ता गठबन्धनमा राष्ट्रपतिको साझा उम्मेदवार बनाउन असम्भव जस्तै देखिएपछि अर्को विकल्पको खोजी कार्य तिव्रगतिले अघि बढाईएको छ।

नेकपा एमालेले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा नै राष्ट्रपति एमालेको भागमा रहने सहमति भएकाले त्यही अनुसार अघि बढ्नुपर्ने अडान दोहोर्याईरहेको छ भने प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको उम्मेदवार नै नयाँ राष्ट्रपति हुनुपर्ने अडानमा अडिग देखिन्छन्। यही अडान कायम रहेकै अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालले पटक पटक गोप्य र खुला भेटघाट गरिसकेका छन् तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन्।

प्रतिनिधिसभाको मुख्य विपक्षी दल नेपाली कांग्रेस भने राष्ट्रपतिको उम्मेदवार आफ्नो पार्टीको हुनुपर्ने दावी गर्दै प्रधानमन्त्री दाहाललाई समर्थन गरिरहेको छ।

चारदिन पछि १३ फागुनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

यता बोलचाल नै बन्द गरेर बसेका एमाले अध्यक्ष ओली र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कानेखुशी सुरु गरेको बुझिएको छ। एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री दाहाल असमत झैं देखिएपछि ओलीले उनको अडान तोड्न नयाँ चलाखी सुरु गर्दै नेपाललाई उम्मेदवार हुन फकाउन थालेका हुन् भनेर एक जानकार सूत्रले बताएको छ। राष्ट्रिय दलको मान्यता पाउन असफल समाजवादीका अध्यक्ष नेपाल पुरानो गठबन्धनका पक्षमा उभिँदै आएका नेता हुन्।

राष्ट्रपतिको उम्मेदवार हुन ओलीले दिएको आश्वासनलाई नेपालले कसरी लिन्छन् भन्ने कुरा प्रकाशमा आईसकेको छैन। लामो समयदेखि गम्भीर आरोप प्रत्यारोपमा उत्रिएका ओली र नेपालको गुप्त सम्वादले सकारात्मक मोड लियो भने प्रधानमन्त्री दाहालको रणनीति सफल नहुन सक्ने देखिन्छ। ओली जसरी भएपनि दाहालको योजना असफल पार्ने रणनीतिमा देखिन्छन्। यही उदेश्य पूरा गर्न विगतका सबै तीतामीठा बिर्सेर नेपाललाई अंकमाल गरेका हुन्।

प्रधानमन्त्री दाहाल मुख्य सबै संवैधानिक पदहरुमा एमालेका नेता रहँदा आफू घेराबन्दीमा पर्ने भयले त्रशित देखिन्छन्। ओलीको उदेश्य पनि यही नै रहेको बुझ्न सकिन्छ।

यही राजनीतिक घटनाक्रममा ओली र नेपालवीच भेटघाट भएको बुझिएको छ। दुवै नेताहरूले गोप्य भेटघाट गरेको जानकार सूत्रले बताएको छ।

एमालेका नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालवीच भेट भएको बताईएको छ। आइतबार साँझ ओली विराटनगरबाट फर्केपछि महाराजगन्जमा भेटघाट भएको हो। (

Leave a Reply

Your email address will not be published. Required fields are marked *