चौथो सम्मेलन आज: बिम्स्टेकलाई थप मजबुत र नतिजामुखी बनाउने अठाेट

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक) कौ चौथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु हुँदैछ।

बिम्स्टेकका सात सदस्य  राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइसकेका छन् ।

सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन्। शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा बुधबार काठमाडौं आइपुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिना आज बिहान काठमाडौं आएका हुन् ।।

यसैबीच बुधबार काठमाडौंमा बसेको बिम्स्टेकको १६औं मन्त्रीस्तरीय बैठक बिम्स्टेकलाई थप मजबुत र नतिजामुखी बनाउने प्रतिबद्धता गर्दै सम्पन्न भएको छ। बैठकमा बिमस्टेकको सबै पक्षको समीक्षा गरिएको थियो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेको बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरु बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहम्मद अली, भुटानका विदेश सचिव सोनाम छोङ, भारतका विदेश राज्यमन्त्री भिके सिंह, म्यानमारका अन्तर्राष्ट्रिय विकासमन्त्री यु क्य थिन, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्त सेनानायके र थाइल्यान्डका विदेशमन्त्री डन प्रमुदभिनाई सहभागी थिए।

नयाँ संविधान जारी भई तीनवटै चरणका निर्वाचन सम्पन्न भएपछि नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो र बृहत् अन्तर्राष्ट्रिय सम्मेलन हो। यसअघि नेपालमा सन् २०१४ को नोभेम्बरमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलन भएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार आज होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक चौथो शिखर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। करिब दिउँसो २ बजे शिखर सम्मेलन सुरु हुने जनाइएको छ। उद्घाटनलगत्तै सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। बिहीबार नै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा होटल ह्यातमा रात्रिभोज आयोजना गर्नेछन्।

शुक्रबार राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुलाई ‘रिट्रिट’ दिइनेछ। रिट्रिट सोल्टी होटलमै दिइने तयारी छ। रिट्रिट सकिएपछि शुक्रबार बिम्स्टेक सम्मेलनमा सहमति जुट्ने समझदारीपत्रमा हस्ताक्षर हुनेछ। ‘ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति सचिव र मन्त्रीस्तरीय बैठकमा भइसकेको छ । यही सहमतिलाई शिखर सम्मेलनले अनुमोदन गर्नेछ।

शुक्रबार नै शिखर सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गर्नेछ। समापन हुनुअघि प्रधानमन्त्री ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नेछन्। शिखर सम्मेलन सकिएपछि राष्ट्रप्रमुख तथा सरकारप्रमुखबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *