हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी
काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । चिकित्सकहरुको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ ।
भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको छ । बिहीबार बिहान स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई भेटेर सरकारले उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए ।
बिहीबार बिहान कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, एनपी साउद र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता अस्पताल पुगेर भण्डारीलाई भेटेका थिए ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।