बालेनले फर्काए ओलीलाई जवाफ ‘सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे’

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबाफ फर्काएको विषयले यतिबेला सामाजिक सञ्जाल तरंगित भएको छ ।

काठमाडौंको सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्दै एमाले अध्यक्ष ओलीले सुकुम्बासी समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्ने बताएका थिए ।

गरिबहरुमाथि दमन भएको भन्दै एमाले अध्यक्ष ओलीले उन्मादले देश चल्न नसक्ने बताएका थिए । तर, ओलीलाई तत्कालै सामाजिक सञ्जालमार्फत बालेनले जबाफ दिएका छन् ।

बालेनले २०४७ साल यता १४ वटा आयोग बने पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान नभएको बताएका छन् । परिस्थिति फेरिएको बताउँदै बालेनले सकेको सहयोग गर्न ओलीलाई आग्रह समेत गरेका छन् ।

बालेनले जबाफ फर्काएपछि यतिबेला सामाजिक सञ्जाल पक्ष र बिपक्षमा बाँडिएको छ । कसैले ओलीको तर्क ठीक छ भनेका छन्, कतिले बालेनलाई समर्थन गरेका छन् । बालेनको प्रतिक्रियालाई तीन घण्टामै १४ हजार भन्दा बढीले सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,

अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो ।

किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।

तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *