सीट बाँडफाँडमै अल्झियो गठबन्धन

काठमाडाैं । आगामी चुनावमा तालमेल गर्ने सहमति गरेको सत्तारूढ पाँच दलीय गठबन्धन सीट बाँडफाँडमै अल्झिएको छ।

सीट बाँडफाँडको टुङ्गो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन बन्यो। “सीट बाँडफाँडका विषयमा छलफल भयो, कुनै निष्कर्षमा पुग्न सकिएको छैन,” बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।

गठबन्धनका शीर्ष नेताले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए। त्यसपछि तालमेलको मोडालिटी बनाउन साउन २० गते कार्यदल गठन गरेका थिए। कार्यदललाई भदौ पहिलो साता प्रतिवेदन बुझाउन समय दिइएको थियो।

गठबन्धन कार्यदलले सीट बाँडफाँडका लागि २०७४ सालको चुनाव र गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावलाई आधार बनाउने सैद्धान्तिक सहमति गरेको थियो। त्यसपछि पटक पटक छलफल भए पनि सीट बाँडफाँडमा सहमति जुट्न सकेन।

यसका लागि कार्यदलले संयोजक कृष्णप्रसाद सिटौलालाई सीट बाँडफाँडको खाका प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो।

त्यसपछि पनि सहमति जुट्न सकेन। कार्यदलमा सहमति नजुटेपछि त्यसबारे शीर्ष नेतालाई जानकारी दिइएको थियो।

कार्यदलले गरेको ब्रिफिङका आधारमा सीट बाँडफाँडको टुङ्गो लगाउन आज प्रधानमन्त्री निवासमा गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो। झण्डै तीन घण्टा छलफल भए पनि कुनै टुङ्गो लाग्न सकेन।

सीट बाँडफाँडकै विषयमा छलफल चलिरहेको मन्त्री कार्कीले बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कार्कीले भने, “आज मुख्य रूपले सीट बाँडफाँड र त्यसपछिको अवस्थाका विषयमा छलफल केन्द्रित रह्यो।”

आजको बैठकमा सबै दलले आआफूले पाउनुपर्ने सीटबारे धारणा राखेका थिए। कांग्रेस र अन्य चार दललाई बराबरी सीट निर्धारण गर्नुपर्ने किसिमको अन्य दलका नेताको भनाइ आएको जनाइएको छ। जसले गर्दा सहमति जुट्न गाह्रो भएको छ।

बैठकमा सहभागी मन्त्री कार्कीले पनि सीट बाँडफाँडको विषय टुङ्गिन अझै केही दिन लाग्ने बताए। कहिले टुङ्गो लाग्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले भने, “अलिक दिन तपाईंहरू पनि आउँदै गर्नुस् न।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *