हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
विश्वासको मतमा मतदान आज, यसरी अघि बढ्ने छ प्रक्रिया
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित मतदानको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै विश्वास मतको प्रक्रियालाई पनि सोमबार नै टुङ्गो लगाउने निर्णय पनि गरेको छ । दलीय प्रतिनिधित्वमा शीर्ष नेताहरूले मात्र मन्तव्य दिएर सोमबार नै मतदान प्रक्रिया अगाडि बढाउने समझदारी कार्यव्यवस्थामा बनेको हो ।
यसरी हुनेछ व्यवस्था कार्यव्यवस्थाको निर्णयअनुसार उपत्यका बाहिर रहेका सदस्यलाई पनि यथाशक्य उपत्यका ल्याइने छ । सङ्क्रमित सदस्यलाई सङ्घीय संसद् भवनअगाडि टेन्टमा बस्ने व्यवस्था मिलाइने छ । मतदान प्रक्रिया प्रारम्भ भएपछि भने भवनको ल्होत्से हलमा मतदानको व्यवस्था मिलाइने छ ।
सङ्घीय संसद्का सचिव ध्रुवप्रसाद घिमिरेले कार्यव्यवस्थाको निर्णयअनुसार सचिवालयले तयार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित सांसदहरूलाई बाहिर टेन्टमा बस्ने व्यवस्था मिलाउने छौँ । मतदानमा भने ल्होत्से हलमा उहाँहरूलाई व्यवस्था गरिने छ । तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराइने छ । ”
यसरी अघि बढ्ने छ प्रक्रिया
अधिवेशन विश्वास मतको प्रयोजनका लागि बोलाइएकाले अधिवेशनमा अन्य कुनै पनि बिजनेस अगाडि बढ्ने छैन । सोमबार दिउँसाे १ बजे शुरू हुने बैठकमा यसअघिको घोषणाअनुसार प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत माग्नुहुनेछ ।
प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावमा छलफलका लागि समय निर्धारण हुनेछ । तोकिएको अवधिको छलफलका क्रममा उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि प्रस्तावउपर निर्णय प्रक्रिया प्रारम्भ हुनेछ ।
विश्वास मतको प्रस्तावलाई निर्णयार्थ पेस गर्दा मत विभाजन हुनेछ । सदस्यहरूले हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुन पाउने छन् । संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको सङ्ख्या गणना हुनेछ । प्रतिनिधि सभामा हाल २७१ जना कायम सङ्ख्या छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सदस्य आवश्यक पर्छ ।
प्रतिनिधि सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट १२१ सदस्य छन् तर पार्टीको आन्तरिक विवादका कारण मतदानअघि नै केही सदस्यको राजीनामा वा फ्लोर क्रस हुनेसम्मको आकलन गरिएको छ । एमाले एकै ठाउँमा उभिए पनि प्रधानमन्त्रीलाई विश्वासको मतका लागि थप १५ सदस्य आवश्यक पर्ने छ ।