कोरोनाविरुद्धको लडाईंमा महावीर पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलद्वारा प्रशंसा

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

आज आइतबार सिंहदरबारमा भएको भेटमा मन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली बैज्ञानिक पुनले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् । सो अवसरमा कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् ।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरूले ११ प्रकारका सामानहरू तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए । उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५०० सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । बैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उनले विश्वास दिलाएका छन् ।

उपप्रधानमन्त्री र वैज्ञानिक पुनबीच कोरोना संकटमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *