सरकारले भन्याे, जनताका लागि ‘थप काेभिडसिल्ड खाेप किन्न सकिन्न’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जनाएका हुन्। यसअघि काेभिशिल्ड खाेप बिक्री गरेकाे भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले नेपाललाई प्राथमिकतामा राखेकाे जनाउँदै विज्ञप्तिमा भनिएको छ, “सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन।”

भारतले सेरमबाट उत्पादित १० लाख कोभिशिल्ड खोप अनुदानमा दिएको थियो। त्यसलाई लगाउन थालेसँगै नेपालले थप २० लाख खोप खरीद गरेको थियो। त्यसमध्ये १० लाख डोज नेपाललाई दिएको छ भने १० लाख डाेज दिन बाँकी छ।

यससँगै सरकारले सेरमबाट थप ५० लाख खोप खरीद गर्ने प्रक्रिया थालेको थियो। त्यसलाई ध्यानमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महीनाभित्र सबैलाई खोप लगाइसक्ने घोषणा गरेका थिए।  तर, सेरमबाट ५० लाख खोप खरीद गर्ने प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन।

सेरमका स्थानीय प्रतिनिधिलाई १० प्रतिशत कमिसन नदिँदा खरीद प्रक्रिया रोकिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले हिमालखबरसँगको कुराकानीमा बताएका थिए। थप खोप नआउँदा खोप कार्यक्रम पनि प्रभावित भएको छ। यस विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन्।

यसै विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिँदै तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको हो। अन्य कम्पनीका खोप खरीदका लागि कूटनीतिक तथा अन्य माध्यमबाट प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *