स्वेजमा धस्सिएको मालवाहक जहाज निकालियो

एजेन्सी । इजिप्टको स्वेज नहरमा धस्सिएको जापानी स्वामित्वमा रहेको मालवाहक पानीजहाज ‘एभेर गिभेन’लाई आंशिक रूपमा निकाल्न सफलता प्राप्त भएको छ । चार सय मिटर लामो र २० हजार टन वजनको विशाल जहाज एसियाबाट युरोपका लागि सामान लिएर जाँदै गरेको अवस्थामा अड्किएको थियो । लामो समयसम्मको अथक प्रयासपछि आंशिक रूपमा मुख्य जलमार्गतर्फ तैराउन प्राविधिकहरू सफल भएको स्वेज क्यानल अथोरिटिले जनाएको छ । यद्यपि अझै पूर्ण रूपमा सफल भने नभइसकेकाले उत्सव मनाउने समय नभइसकेको अथोरिटीको भनाइ छ ।

बोस्कालिज वेस्टमिनिस्टरका प्रमुख कार्यकारी अधिकृत पिटर वेर्डस्कीका अनुसार पानीजहाजको स्टिम अझै धेरै अड्किएको छ । पछाडिका भाग सजिलै पानीमा तैरिए पनि अघिल्लो भाग भने निकाल्न बढी नै चुनौतीपूर्ण छ । जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन त्यसमा रहेका करिब २० हजार कन्टेनर निकालिएको थियो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार उक्त पानीजहाज नहरमा फसेका कारण उक्त रुट भएर जाने अन्य ४५० भन्दा पानीजहाजहरू नहरमा प्रतीक्षारत छन् । एक अनुमानअनुसार विश्वको कुल व्यापारको करिब १२ प्रतिशत व्यापार यही नहर भएर आवतजावत हुने गर्छ । यो मार्गबाट लाखौँ ब्यारेल तेल र ग्यास पर्सियाली खाडी क्षेत्रबाट युरोप र उत्तर अमेरिका पुग्ने गरेको एजेन्सीहरूले जनाएका छन् । त्यस्तै चीनमा उत्पादन भएका लत्ताकपडा, फर्निचर, सुपरमार्केटलगायतका सामान पनि यही मार्गबाट युरोप जाने गरेका छन् ।

यो रुट अवरुद्ध भएपछि अफ्रिकाको दक्षिण भेगलाई प्रयोग गर्दा पाँच हजार किलोमिटरभन्दा बढी घुमाउरो भई ढुवानी र खर्च महँगो पर्ने एजेन्सीहरूले जनाएका छन् ।

लेह एजेन्सीका अनुसार एभेर गिभेनलाई सोझो बनाउन दसवटा टगबोट प्रयोग गरिएको छ । त्यस्तै नहर वरपरबाट बालुवाको माटो निकाल्ने र पानीको सतहलाई पनि बढाउने काम भइरहेको छ । जहाज सञ्चालक सोइ किसेन कैसा लिमिटेडले हालसम्म जहाजमा कुनै क्षति नभएको र इन्जिनको अवस्था सकुशल रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *