महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतकाे ‘ग्राण्ड डिजाइन’ स्वार्थ समूहहरू सक्रिय बन्दै

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा भारतकाे हस्तक्षेप कुनै नाैलाे कुरा हाेइन । सरकार बन्नु र ढल्नुमा उसकाे चलखेल सधै भइरहन्छ । त्यसमाथि भारतपरस्त केही नेताहरूले ठूलाे भूमिका खेल्छन् । नेपालकाे अस्थिर राजनीतिबाट फाइदा लुट्न पल्केकाे बिस्तारबादी भारतले अहिले नेपालमा सिर्जित राजनीतिक अवस्थामा पनि चलखेल थालेकाे छ ।

अहिलेकाे राजनीतिक परिदृश्यलाई सुक्ष्म रुपमा हेरिरहेको भारतले भित्रभित्रै आफूलाई सक्रिय बनाउँदै गएकाे छ ।

सर्वाेच्च अदालतकाे फैसलासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले र माओवादी केन्द्र बनेपछि भारतले नेपालको विषयमा अाधिकारिक धारणा नै बाहिर नल्याए पनि भित्रभित्रै खेल शुरू गरेकाे बुझिएकाे छ ।

नेपालको तरल राजनीतिमा भारतले आफूलाई भित्रभित्रै सक्रिय बनाएको छ । केपी ओली नेतृत्वको सरकारलाई माओवादीले साथ दिएको छ । माओवादीको समर्थन रहँदासम्म ओली सरकारलाई कुनै समस्या छैन । माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै विभिन्न स्वार्थ समूहहरू सक्रिय हुनेछन् । त्यसमा सबैभन्दा पहिलो नम्बरमा भारत देखिनेछ । भारतले जनता समाजवादी पार्टी नेपाल (जसाप)को नेतृत्वमा सरकार बनाउन खोजेको भनेर आरोप लागिरहेको छ ।

भारत निकट मानिने नेताहरूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सर्तमा जसपालाई सरकारको नेतृत्व दिनुपर्ने माग राख्न थालेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक अन्तर्वार्तामा महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिसकेका छन् ।

भारत निकट मानिने नेताहरूले महन्थ ठाकुरका पक्षमा अभिव्यक्ति दिन थालेका छन् । महन्थ ठाकुर प्रधानमन्त्री बन्नै नहुने होइन । तर, ठाकुरलाई प्रधानमन्त्री बनाउन भारतीय समूह जसरी सक्रिय भएको छ त्यो अस्वभाविक छ ।

राजनीतिक विश्लेषकहरूले बरु निर्वाचनको बेलाको वाम गठबन्धनलाई नै सक्रिय बनाएर जान सुझाव दिन थालेका छन् । माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै ओली सरकार झन् असुरक्षित हुनेछ ।

ओली र प्रचण्डले वार्ता गरेर पार्टी एकीकरणभन्दा पनि सरकारलाई मिलेर चलाउनुपर्ने सुझाव आउन थालेका छन् । सरकार टिकाउने बहानामा ओलीलाई कानून र संविधान विपरितका सर्त पूरा गर्न समेत बाध्य पारिनेछ । त्योभन्दा ओलीका लागि माओवादीसँग मिलेर सरकार चलाउनु सबैभन्दा उपयुक्त हुने सुझाव आउन थालेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विषयमा धेरै रुचि देखाएका छन् । देउवाले सत्ताको राजनीतिमा नेपालका राजनीतिक दलहरूभन्दा अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय छन् भन्ने बुझेका छन् ।

ओलीले पनि साना दलहरूलाई लिएर सरकार बनाउनेभन्दा पनि माओवादीसँगै राजनीतिक सहमति गरेर दुई वर्षका लागि सरकार बनाउँदानै ठीक हुन्छ भन्नेहरू भेटिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *