वरिष्ठ साहित्यकार न्यौपानेको मातृवियोग काव्यको विमोचन

फाल्गुन २६, पाल्पा ।
टंक प्रसाद पन्थ ।
पाल्पाका वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपानेद्धारा रचित मातृवियोग कृतिको विमोचन भएको छ । कृतिका लेखक वरिष्ठ साहित्यकार न्यौपानेकै गृह परिसरमै एक कार्यक्रमका बिच विमोचन गरिएको हो । आमा गाथादेवीको मृत्युको शोकमा रहँदा लेखिएको उक्त कृतिको आमाकै वार्षिकीको अवसर पारेर विमोचन गरिएको छ ।

कृति विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार झपेन्द्रबहादुर जी सीले नीलकण्ठ गुरुको लेखनमा विचारका माध्यमबाट समाज रूपान्तरणको चेतना रहेको भन्दै पुरेतको मुखमा बुझोदेखि श्रमसाधनाु महाकाव्यसम्मको साधनाले समाज र राष्ट्रमै योगदान पुर्याएको चर्चा गर्नुभएको थियो । प्रमुख राजनीतिक सल्लाहकार जी.सीले आमाप्रति सन्तानको दायित्वलाई नीलकण्ठ गुरुले गहन रूपमा वर्ण गरेको बताउनुभयो ।

विशिष्ट अतिथि प्रदेश सभासद तथा नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले आफूमा समेत सानैदेखि नीलकण्ठ गुरुको छाप रहेको सन्दर्भ उठाई गुरुमा भएको विद्वत्तालाई हामीले सदुपयोग गर्नुपर्ने बताउनुभएको थियो । प्रदेश सभासद आचार्यले गाउँमा भन्दा सुगम सहरमा बसेर गुरुले साधनामा लाग्नुपर्ने समेत सल्लाह दिनुभयो । कृतिमाथि सघन रूपमा समीक्षात्मक टिप्पणी गर्ने काम डा. शंकरप्रसाद गैरेले गर्नुभयो ।

आमाको स्मृतिमा केन्द्रित यस काव्यले आमाको गरिमालाई उठाउनुका साथै कृति पढ्दै गर्दा सबै पाठकले आफ्नै आमाको छाया साक्षात्कार गर्नुले विचारलाई सार्वजनीन रूपमा प्रस्तुत गर्ने कलात्मक सामर्थ्य नीलकण्ठ न्यौपानेमा रहेको कुरा व्यक्त गर्नुभयो । काव्यको उत्तरार्धतिर आमाहरूले गरिमा गुमाउन पुगेको सन्दर्भबाट वर्तमानको टड्कारो यथार्थलाई प्रतिबिम्बित गरिएको प्रस्तुत कृति पठनीय रहेको कुरासमेत उहाँले प्रकाश पार्नुभयो । विषयवस्तु, संरचना, शैलीशिल्प, छन्दविन्यास तथा रस र अलङ्कारका दृष्टिले काव्य सबल रहेको विचार उहाँले राख्नुभयो ।

कार्यक्रममा पूर्वखोला गाउँ पालिकाका अध्यक्ष नुनबहार थापा , धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्याल, वरिष्ठ पत्रकार मेघराज शर्मा, टंक पन्थलगायतले नीलकण्ठ गुरुको पुण्य कर्मको प्रशंसाा गरी उहाँको साधनाको निरन्तरताको कामना गर्नुभयो । कृतिकार नीलकण्ठ न्यौपानेज्यूले आमा गाथादेवीप्रतिको आफ्नो कर्तव्यको पाटोलाई प्रकाश पारी आमाको गौरवमय छविलाई झल्काउनुका साथै वर्तमान समयमा आमाको ओज घट्न गएको तीतो यथार्थलाई दृष्टान्तसहित प्रस्तुत गरी आजका पुस्ताका घैँटामा घाम लागोस् भन्ने हेतुले पनि काव्यको सिर्जना गरिएको कुरा व्यक्त गर्नुभयो ।

यसैगरी आमाको वार्षिकीमा उपस्थित साहित्यिक व्यक्तित्वहरू, गुरुपुरोहितहरू, आफन्तजन, इष्टमित्र सम्पूर्णप्रति कृतज्ञता ज्ञापनसहित धन्यवादसमेत व्यक्त गर्नुभयो । कार्यक्रम न्यौपाने वंशकै जेष्ठ सदस्य पण्डित जीवनाथ न्यौपानेज्यूको अध्यक्षता र गाथादेवीका नाति सुशील न्यौपानेको सञ्चालनमा चलेको हो । साथमा वैदिक विधिअनुसार आमाको वार्षिकी कर्म पनि सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *