नेकपाको बोर्ड हटाएर राखियो ओलीको प्रतिमासहित एमालेको बोर्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा रहेका साइनबोर्ड हटाएर नेकपा एमाले र माओवादी केन्द्रले आआफ्नो बोर्ड झुन्ड्याउन थालेका छन् । यसको थालनी प्रदेश नम्बर एकबाट भएको छ । मोरङमा पुनःस्थापित नेकपा एमालेले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो ।

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निणर्य गरेपछि देखिएको नयाँ राजनीतिक तरङ्गसँगै नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेकपा जिल्ला कार्य समिति मोरङको विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेपछि उद्घाटन गर्नुभएकाे हाे ।

विराटनगर ११ पाञ्चालीमा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाइएको हो । ओली समूहका नेता कार्यकर्ता भेला भएर नेकपा एमाले मोरङ जिल्ला कमिटीको आयोजनामा पार्टी कार्यालयमा बोर्ड फेरिएको हो । बोर्डसँगै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रतिमा पनि राखिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पनि पुनः एमालेकै पार्टी कार्यालय बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *