प्रचण्डले बोलाएको धुम्बाराही बैठकको निर्णय : बैठक बोलाउन ओलीलाई संयुक्त आग्रह गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गर्ने भएका छन् ।

शुक्रबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आफूपक्षीय नेताहरूलाई जानकारी गराउनुभएको थियो ।

आफूसँगको भेटमा ओलीले सहमति बेगर बैठक बोलाए त्यो पार्टी फूटको बिन्दु हुनेछ भनेर चेतावनी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठले बताउनुभयो । स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आफूहरूको निष्कर्ष रहेको श्रेष्ठले बताउनुभयो ।

भेलामा सहभागी अधिकांशले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा समस्या आएको भन्दै ओलीलाई भेटेरै बैठक राख्न आग्रह गर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।

९ सदस्यीय सचिवालय मध्ये शुक्रबारको बैठकमा ५ सदस्य सहभागि थिए ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागि हुनुभएन भने कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागि हुनुहन्थ्यो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *