२५ वर्षीया बबितादेवीले जन्माइन् तिम्ल्याहा शिशु

सर्लाही । स्वास्थ्यक्षेत्रको सेवा सुविधा निकै कमजोर रहेको सर्लाहीमा एक जना चित्किसकले भर्खरै जन्मिएका तिम्ल्याहा शिशुलाई बचाइरहनु भएको छ ।

जिल्लाको दक्षिणी ग्रामीण भेगस्थित कौडेना गाउँपालिका–१, सुकचैनाका षोषण राउतकी श्रीमती २५ वर्षीया बबितादेवीले यही असोज १६ गते जिल्ला अस्पताल, मलङ्गवामा सामान्य किसिमले तीन जना शिशु जन्माउनुभएको थियो । तीनै जना छाेरा हुन् । उनीहरुमध्ये दुई जना सवा किलो र एक जना डेढ किलोका छन् ।

सामान्यतया बच्चा जन्मिँदा दुई किलो छ सय ग्राम हुनुपर्छ । तर बबितादेवीले जन्म दिनुभएको तीनै जना बच्चा अत्यन्त कम तौलका रहेकाले यो अवस्था दुर्लभ र जटिल रहेको बालरोग विशेषज्ञ डा. गुणेश्वर झाले बताउनुभयो । डा. झाले नै अहिले अक्सिजन दिएर राख्नुका साथै अन्य आवश्यक औषधोपचार गरी बबिताका तीनै जना शिशुलाई बचाईरहनु भएको छ ।

प्रायः जसो एकैपटकमा एक/दुई शिशु जन्मेपछि, जन्मिने अरु बच्चा जीवित हुने सम्भावना अत्यन्तै न्यून भए पनि जिल्ला अस्पताल मलङ्गवाका डाक्टरहरुको दक्षताले गर्दा तीनवटै बच्चालाई सकुशल जन्म दिन सफल भएका डा. झाले बताउनुभयो । अस्पतातले आफूकहाँ पठाउँदा श्वास फेर्न गाह्रो हुनुका साथै चिसो हुन लागिसकेका तीनै जना शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको र आमा बबिता पनि स्वस्थ रहनुभएको डा. झाले बताउनुभयो ।

यस किसिमको सेवा लिन दक्षिणी भेगका स्थानीयहरु चर्को मूल्य तिरेर भारतीय बजारसम्म पुग्ने गरेका भएपनि आफ्नै ठाउँमा स्रोत साधन जुटाएर प्रदान गर्न पाउँदा आफूलाई खुशी लागेको डा. झाको भनाई छ ।

शिशुहरुको डा. झाले नै सञ्चालन गर्नुभएको मलङ्गवास्थित स्मृति सौम्या हेल्थ केयर सेन्टरमा उपचार चलिरहेको छ । जिल्ला अस्पताल मलङ्गवाको प्रसुति फाँटमा कार्यरत डा. चन्दनराज शर्माले अन्त्यन्त जोखिमपूर्ण र दुर्लभ किसिमको प्रसुति जिल्ला अस्पतालमै गराउन पाउँदा खुसी लागेको बताउनुभयो । अस्पतालकी नर्सिङ इन्चार्ज सङ्गीता श्रेष्ठले परिवारको स्वीकृतिमा आफूहरुले पहिलो पटक यस किसिमको जटिल प्रसुति सेवा सफलतापूर्वक सम्पन्न गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

बबितादेवीले यसअघि दुई छोरालाई जन्म दिइसक्नुभएको छ । जेठो छोरा पाँच वर्ष र माईलो छोरा साढे तीन वर्षको भइसकेका बबिताका श्रीमान पोषण राउतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *