सुनको लेप लगाएको सांसदको लोगो फिर्ता

काठमाडौँ । चौतर्फी रुपमा चर्को आलोचनापछि संघीय संसदले सांसदहरुलाई बाँडेको सुनको लेप लगाएको लोगो फिर्ता लगेको छ ।

संशोधित नक्सासहितको नयाँ प्रतीक चिन्हको ब्याच पिन (लोगो) मा संरचनागत र साजसज्जा सम्बन्धी समस्या देखिएको भन्दै चर्को आलोचना भएपछि सचिवालयले बाँडेको लोगो तत्कालका लागि फिर्ता लगेको हो । सुधार र परिमार्जनका लागि फिर्ता पठाएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उक्त लोगो बनाउने जिम्मेवारी लिएको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले लोगो निर्माणमा भएका कमी कमजोरी स्वीकार गरेको छ । प्रतिबद्धता विपरीत लोगो बनाउँदा सिकारु कालिगडको प्रयोग भएको र साजसज्जामा हेलचक्र्याईँ भएको घरेलुले संसद् सचिवालयलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

गत असार महिनामा घरेलु तथा साना उद्योग कार्यालयलाई अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा अनुसार डिजाइन गरिएको लोगो बनाउन जिम्मा दिइएको थियो ।

संघीय संसद् सचिवालयबाट ३ सय ५० थान लोगोमध्ये झन्डै ९५ जना सांसदले लोगो लगेपनि पछि विवाद बढ्दै गएपछि फिर्ता गरेका थिए ।

दुई लाल सुनको जलप र एक तोला चाँदी प्रयोग गरी बनाइएको नयाँ लोगोबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा सांसदहरूले समेत लोगो ’भद्दा र गुणस्तरहीन’ भन्दै टीकाटिप्पणी गरेपछि संघीय संसद्ले यसबारे समीक्षा गर्ने बताएको थियो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *