राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ, सार्वजनिक गरिँदै

काठमाडौँ । युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।

गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सिआइबीकाे टाेलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संलग्न छ जनालाई र दुई जना महानगरीय अपराध महाशाखाले गरी आठ जनालाई पक्राउ गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *