सत्तारुढ नेकपाकाे कार्यदल अनुमाेदन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गर्नुभएको कार्यदललाई सकारात्मक रुपमा लिँदै अनुमोदन गर्ने निर्णय गरेको हो । पार्टीमा देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वयले दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गर्नुभएको थियो ।

राष्ट्रका लागि पार्टी र सरकार सञ्चालनका सवालमा कार्यदलले दिएको सुझावलाई प्रभावकारी ढंगले काम गर्न दृढताका साथ सहयोग गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी र सरकार भित्र देखापरेको समस्याको समाधान र संकटलाई समाधान गर्न कार्यदल गठन गर्नु उपयुक्त भएको र कार्यदलले दिएको सुझावसहित छिटोभन्दा छिटो समस्या समाधान गर्ने निष्कर्ष बैठकले निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कार्यदलले दिएको सुझावलाई आधार मानि पार्टी एकताको महाधिवेशनमा जाने गरी तयारी गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

अध्यक्षद्वयले गठन गरेको कार्यदललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने बताउदै आएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *