बेलकोटगढीका विपद् प्रभावित सुरक्षित स्थानमा

जमुना गजुरेल
बिदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्बाट प्रभावित घर परिवारलाई राहत वितरण गर्नुका साथै पहिराबाट प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ ।

केही दिनदेखि लगातार भएको वर्षाका कारण शुक्रबार बेलकोटगढी नगरपालिका–८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५ माझगाउँमा पहिराका कारण पाँच परिवारका छ घर पूर्णरुपमा क्षति हँुदा २१ जना प्रभावित भएका छन् । पहिराका कारण सात घर उच्च जोखिममा पर्दा २९ जना र ४३ घर जोखिम हुँदा २५१ जना प्रभावित भएका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभएको हो ।

प्रजिअ ढकालका अनुसार पहिरामा परी २१ बाख्रा, दुई राँगा र एक भैँसी पुरिएका छन् । “खोज उद्धारका क्रममा जोखिममा रहेकामध्ये २० परिवारलाई स्थानीय विद्यालयमा लगी सुरक्षित स्थानमा राखिएको र १० घरको सरसामान सुरक्षित स्थानमा सारिएको छ”, उहाँले भन्नुभयो, “घटना घटेको केही समयमा नै पहिरोबाट प्रभावित जनसमुदायलाई जिल्ला विपद् व्यवस्थापन समिति, बेलकोटगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र स्थानीयको समन्वयमा पीडित घरपरिवारलाई सम्बन्धित ठाउँमै पुगी बस्न र खानाकालागि टेन्ट, त्रिपाल र खाध्य राहत सामग्री वितरण गरेका छौँ ।”

प्रजिअ ढकालले पहिराबाट पूर्णरुपमा घर क्षति भएका पाँच परिवारलाई पाँच थान टेन्ट, पाँच सेट गैरखाद्य सामग्री वितरण गरिएको छ भने जोखिममा रहेका घरका लागि दुई थान टेन्ट र ४० थान त्रिपाल बेलकोटगढी–५ को वडा कार्यालयको जिम्मा लगाएको बताउनुभयो । उहाँले पहिराबाट प्रभावित भएका परिवारलाई छिटोभन्दा छिटो आवश्यक खाद्यान्न र रकम पु¥याउने प्रयास भइरहेको जानकारी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले पहिरामा परी बेलकोट–८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको आफ्नै घर भत्किएर पुरिँदा मृत्यु भएको जानकारी दिनुभयो । घटनामा उद्धारका लागि नुवाकोटमा रहेको नेपाली सेनाको जबरजंग गणका सेना, जिल्ला प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी बल, खोज उद्धार समितिका सदस्य र निजामति कर्मचारीलगायतको समन्वयमा उद्धार कार्य गरिएको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *