खुले त्रिविका देशभरका क्याम्पस, कहिले हुन्छ त परीक्षा ?

काठमाडाैँ । करिब चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पस बुधबारदेखि खुलेका छन्। कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन अन्त्य भएसँगै आजदेखि क्याम्पसहरू खुलेको त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयाे।

त्रिविको प्रशासन भने गत असार १ गतेदेखि नै खुलेको थियो। सरकारले मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि क्याम्पसहरू खुलेका हुन्।

लकडाउनका बेला क्याम्पसका शिक्षक, कर्मचारीलाई दिइएको बिदासमेत सकिएको त्रिविले एक सूचना प्रकाशन गरी जानकारी गराएकाे छ  ।

लकडाउन अन्त्य र क्याम्पसहरू खुलेपछि अब चैतमा स्थगित भएका स्नातक र स्नातकोत्तर तहका परीक्षा र पठनपाठन कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल सुरू भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक/दुई दिनमा बैठक राखेर परीक्षाबारे निर्णय लिइने जानकारी दिनुभयाे ।

उहाँकाअनुसार कोरोना कम हुँदै गयो भने पूरानै प्रणालीअनुसार परीक्षा केन्द्रमा विद्यार्थीलाई राखेर लिखित परीक्षा लिइनेछ। कोरोना रहिरहे कसरी परीक्षा गर्ने भन्नेबारे त्रिविले अध्ययन पनि गरेको थियो। त्यसमा अनलाइनबाटलगायत विभिन्न विकल्प थिए।

कोरोना कम भएमा भदौ पहिलो साता परीक्षा लिने गरी त्रिविले तयारी गर्न लागेको हो। बैठक बसेपछि मात्रै परीक्षाको मिति र कार्यतालिका जारी गरिने परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयाे ।

सरकारले भदौ १ गतेदेखि अन्तर जिल्ला (लामो दूरीका) सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरिसकेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *