नेपाली कांग्रेस पार्टी गतिविधिमा थप सक्रिय

काठमाडौँ । पार्टीको १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै कांग्रेस पार्टी गतिविधिमा थप सक्रिय भएको छ । महाधिवेशनको तालिका अनुसार राज्य पुनःसंरचना बमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।

अहिलेसम्म ६७ जिल्लामा समायोजन भइसकेको र बाँकी जिल्लाको पनि निर्धारित समयमै टुंगिने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनु भएको छ । समायोजन हुन बाँकी जिल्लामा समायोजनका लागि समयावधि थपिने कुनै सम्भावना नरहेको उहाँको भनाई छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको २२ असारमा बसेको बैठकले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै साउन १० भित्र समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने मिति निर्धारण गरेको थियो । त्यही बैठकले आगामी फागुन ७ देखि फागुन १० सम्म पूर्वनिर्धारित महाधिवेशनको मिति कायम राख्दै समायोजन, कियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो ।

पछिल्लो तालिकानुसार असार २५ देखि साउन मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने समय तोकिएको छ ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *