गुल्मीमा क्वारेन्टाइनको कन्त विजोग, थप संक्रामक रोग फैलने खतरा

मनोज कार्की
गुल्मी । गुल्मीको तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा रहेको क्वारेनटाइनमा शौचालयको उचित व्यवस्थापन नहुँदा थप संक्रामक रोग फैलन त्रास बढेको छ ।

स्थानीय सरकारले वेवास्ता गर्दा क्वारेन्टाइनमा बसेकाहरु समस्यामा परेका हुन् । सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत आफूहरको गुनासो सुनुवाई नभएको उनीहरुको भनाई छ । क्वारेन्टाइनमा अहिले भारतबाट आएका ७ महिलासहित २९ जना बस्दै आएका छन् । उनीहरु सबैका लागि एउटा मात्रै शौचालयको व्यवस्था गरिको छ । महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय नहुँदा थप समस्या भएको उनीहरुको गुनासो छ । यसका साथै पर्याप्त पानीसमेत उपलब्ध नहुँदा दुर्गन्ध फैलिएर थप शंक्रामक रोग फैलने त्रास बढेको छ ।

तर स्थानीय सरकारले क्याम्पस तथा क्वारेन्टाई व्यवस्थापनलाई अन्य शौचालय र पानीको व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ । क्वारेन्टाइनको अस्तव्यस्तता बारे नाइस टेलिभिजनले रिपोर्टिङ्ग गरेपछि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीरज भुसालले तत्कालै त्यसको बन्दोबस्त मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

यस बिषयमा यसअघि नै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखालाई समेत जानकारी छ । तर नगरपालिकाले अहिलेसम्म शौचालय व्यवस्थापनमा बेवास्ता गरेको क्वारेन्टाइनमा बसेकाहरुको आरोप छ ।

क्वारेन्टाइन बनाइएको रेसुङ्गा बहुमुखी क्याम्पसमा तलापिच्छे शौचालय भए पनि एउटा मात्रै शौचालय प्रयोग गरिँदै आएको छ । एउटै शौचालय प्रयोग गर्दा शारीरिक अपाङ्गता भएका र महिला थप समस्यामा परेका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *