म्याग्दीमा बाढी-पहिरोको बितण्डा, १० जनाको मृत्यु ३० बेपत्ता (अपेडेट)

बेनी । गयरातिदेखि परेको अविरल बर्षका कारण म्याग्दीमा विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ । अन्य ३० जना बेपत्ता भएका छन् ।

धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको छ । त्यस्तै धवलागिरी–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञान नाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् ।

सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरनजंग कुँवरले बताउनुभयो । नदीको कटानका कारण बेनी नगरपालिका–९ ,गलेश्वर र रघुगंगा गाउँपालिका–३ का बस्ती उच्च जोखिम रहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *