तुलसीको बिरुवा रोपेर आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । घर–घरमा तुलसीको बिरुवा रोपेर आज हरिशयनी एकादशी मनाइएको छ ।

आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन छ । हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यो एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई अब चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । हरिबोधनी एकादशीमा भगवान् विष्णु क्षीरसागरबाट उठ्ने शास्त्रीय मान्यता छ ।

वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएकाले मानव जीवनका लागि यो वनस्पती निकै महत्वपूर्ण मानिन्छ । आयुर्वेदमा तुलसीलाई औषधीय दृष्टिले उपयोग गरिन्छ । यो दिन काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।

यो पटक लकडाउन भएकाले मन्दिरमा विगतका वर्ष जस्तो भिडभाड भने भएन ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *