एमसीसी बारे अमेरिकाले भन्यो, समयमा निर्णय नगरे अनुदान दिन्न

काठमाडौँ । नेपालको संसदबाट एमसीसी अनुमोदन गर्ने समयसीमा सकिनु एकदिन अघि दातृ राष्ट्र अमेरिकाले प्रतिक्रिया दिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन भएको छैन । यही बेला अमेरिकाले नेपाली संसदमा के भइरहेको छ भन्नेबारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदान सधैँ खुल्ला नहुने प्रतिक्रिया दिएको हो । अमेरिकाले नेपाललाई एमसीसीका बारेमा निकट भविष्यमा ठोस निर्णय लिन समेत भनेको छ ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसी सम्झौतालाई अनुमोदन गर्ने या नगर्ने विषयलाई लिएर विवाद चुलिएको छ । अमेरिकी राजदूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन’ भनिएको छ । अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन यो परियोजनालाई अहिलेको चरणबाट अघि बढाउनका लागि आवश्यक अघिल्लो कदम भएको उल्लेख गरेको छ ।

अमेरिकाले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलापमार्फत् झण्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिको फाइदा दिलाउन ढिलाई नगर्न भनेको छ । अघिल्लो साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र नेपाली समकक्षी प्रदीप ज्ञवालीबीच टेलिफोनमा कुराकानी भएको थियो । तर दुवै देशले एमसीसी अनुमोदनको विषयबारे त्यसबेला कुरा भए नभएको खुलाएनन् ।

सत्तारुढ नेकपाभित्रै एमसीसीका विषयमा मतभेद छ भने सडकमा दिनहुँ एमसीसी चाँहिदैन भन्दै प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *