काेराेना अपडेट : थप ५९३ जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडाैँ। नेपालमा विगत २४ घण्टामा थप ५९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको छ।

तीमध्ये २,६९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयले थप ४८ जना निको भएको तथा एक जनाको मृत्यु भएको शुक्रवार पुष्टि गरेको हो।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

बिहीवार विभिन्न जिल्लामा ४३४ जना र बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् मृतक ?
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार कोभिड-१९ पुष्टि भएकी मृतक दाङमा फेला परेकी थिइन्। असार ११ गते अचेत अवस्थामा फेला परेकी र अस्पतालले मृत घोषित गरेकी ती अन्दाजी २५-३० वर्षीया ती महिलाको नाम परिचय खुलेको छैन।

मरणोपरान्त उनीबाट सङ्कलित नमुना सङ्कलन गर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए। परीक्षणको परिणाम शुक्रवार आएको थियो।

के छ अरू तथ्याङ्क ?
अहिलेसम्म रसुवाबाहेक सबै ७६ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६,५३५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,०६,२७१ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ७१,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *