कोरोना जितेकै दिन बागलुङमा १९ वर्षीया युवती सुत्केरी

पोखरा । बागलुङमा एक कोरोना संक्रमित युवती सुत्केरी भएकी छिन् । जिल्लाको धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना संक्रमणबाट मुक्त भएकै दिन छोरा जन्माएकी हुन् । ढोरपाटन नगरपालिका वडा नं. ९ स्थायी घर भई ६ दिनदेखि श्रीमानसँगै आइसोलेसनमा रहेकी १९ वर्षीया युवतीले छोरालाई जन्म दिएकी हुन् ।

जेठ २३ गते ढोरपाटन नगरपालिकामा आएर क्वारेन्टाइनमा बसेका दुवै जनामा असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि श्रीमानसँगै अस्पतालको आइसोलेसनमा उपचाररत महिलाले बिहीबार छोरा जन्माएको धौलागिरी अस्पतालका शल्यक्रिया कक्ष इन्चार्ज देवी भट्टराईले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका दुवै जनाको बुधबार साँझ नै दोस्रो परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । ‘उहाँहरू दुवै जनाले कोरोनालाई जित्नुभएको छ, महिलालाई बेथा लागेपछि छुट्टै कोठामा लगिएको र नर्मल तरिकाले छोरालाई जन्म दिनुभएको छ, सुत्केरी र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’ भट्टराईले भन्नुभयो ।

उक्त जोडी रोजगारीका लागि भारतको जालन्धर मिठू बस्तीमा बस्दैआएका थिए । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि आफ्नी गर्भवती श्रीमतीलाई लिएर तीन दिनमा जन्मठाउँ पुगेको श्रीमानले बताउनुभयो ।

कोरोना सङ्क्रमण मुक्त भइसकेको, आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले सम्भवतः शुक्रबार नै अस्पतालबाट घर पठाइने धौलागिरी अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *