अछाममा क्वारेन्टाइनमै बच्चा जन्मियो

अछाम । भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले सोही स्थानमा एक छोरालाई जन्म दिनुभएकाे छ । मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिनुभयो ।

सोही वडाको कुन्ती माविमा रहेको क्वारेन्टाइनमा जेठ १४ देखि बसिरहनुभएकाे रुबिना अनमी कल्पना भण्डारी र जमुना खातीको सहयोगमा सुत्केरी भएको कुन्तीका स्वास्थ्य चौकी इन्चार्ज अर्जुन बोहराले जानकारी दिनुभयो । बोहराका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सुत्केरी रुबिनालाई सोही क्वारेन्टाइनमा रहेको अलग्गै कोठामा राखेर सुत्केरी गराइएको बताइएको छ ।

रुबिनासहित उक्त क्वारेन्टाइनमा रहेका नौ जनामा काेराेना जाँचका लागि जेठ १९ मा स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा एक ५२ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतबाट आएर उक्त क्वारेन्टाइनमा रहेका ३२ जनाको बुधबार नै आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाइएको छ । यसअघि पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई समेत घरमा एकान्तवास बस्ने गरी घर पठाइएको वडा अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो ।

अछाममा यसअघि क्वारेन्टाइनमै रहेका बेला मेल्लेख गाउपालिका र ढकारी गाउँपालिकाका दुई महिलाहरू सुत्केरी भएका थिए । बन्दाबन्दीमा मात्र भारतबाट अछाममा १२ हजार पाँच सय व्यक्ति आएकोमा त्यसको १५ प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय अछामको तथ्याङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *