हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु
काठमाडाैँ । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना विभाग हेर्ने डा पुरुषोत्तम सेढार्इंले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशका १३ जिल्लामध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँमा सबैभन्दा धेरै २३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६–६, भक्तपुरमा पाँच, धादिङ र सिन्धुलीमा चार–चार, ललितपुर र नुवाकोटमा तीन–तीन, सिन्धुपाल्चोक र दोलखामा दुई–दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न स्थानमा आठ हजार ११६ वटा क्वारेन्टिन श्यया रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टिनमा रहेका छन् । यस्तै झण्डै ५०० जना होम क्वारेन्टिनमा रहेका छन् । प्रदेशमा रहेका एक हजार छ वटा आइसोलेशन श्ययामा हाल ४४ जनालाई राखिएको छ ।
प्रदेशमा १० हजार १०३ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र सङ्घीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडिटी परीक्षणमा ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।