माओवादीले ३८ जना निर्दोश जनता मारेको ‘बाँदरमुडे घटना’को १५ वर्ष

काठमाडौँ । बाँदरमुढे घटना भएको १५ वर्ष पूरा भएको छ । तत्कालीन माओवादीको सशस्त्र विद्रोहका क्रममा २०६२ जेठ २३ गते बिहान यात्रु बसमा माओवादीले बम बिस्फोट गराएका थिए । त्यो घटनामा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।

घटनाको सम्झना गर्दै मृतकका आफन्त तथा घाइतेहरुले आज विशेष श्रद्धाञ्जली सभा गरेका छन् । बाँदरमुढे बम बिस्फोटमा मारिएकाको स्मृतिमा चितवनको माडीमा स्मारक बनाइएको छ । त्यही स्मारकमा बाँदरमुढे घटना पीडित समितिले श्रद्धाञ्जली सभा गरेको हो ।

घटनाको १५ वर्ष पुग्दा पनि न्याय नपाएको र पीडितको अवस्था दयनीय रहेको त्यही घटनाका घाइते कृष्ण अधिकारीले बताउनु भएको छ । बाँदरमुढे बम बिस्फोट तत्कालीन माओवादीले सशस्त्र विद्रोहका बेला भएको सबैभन्दा दुःखद घटना भन्दै माफी मागेको थियो ।

माडी समेत समेटिएको चितवन क्षेत्र नम्बर ३ बाट तत्कालीन माओवादी तथा अहिले नेकपाका अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको छ । तर, अझैसम्म पीडितलाई भेटेर माफी माग्ने भनी गरेको बाचासम्म उहाँले पूरा गर्नु भएको छैन ।

बाँदरमूँढे घटनाका पीडितहरूले भने न्याय र परीपूरण र घटनाको स्वतन्त्र, निष्पक्ष अनुसन्धान गर्न माग गरिरहेका छन् ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *