जुवाका खालमा भेटिए अवैतनिक दूतदेखि उच्च घरानाका व्यापारी

काठमाडौँ । प्रहरीले काठमाडौंको कमलादीमा रहेको एक होटलबाट गिनीका अवैतनिक दूतसहित उच्च व्यापारिक घरानाका आठ जना जुवाखालबाट पक्राउ परेका छन् ।

कमलादीमा भारतीय नागरिकले संचालन गरेको बुटिक होटलबाट जुवा खेलिरहेका आठ व्यापारी र होटल संचालकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले राति रिजेन्सी बुटिक होटल बाई गंगोरबाट व्यापारीहरु नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतानलाई पक्राउ गरेको हो ।

दरबारमार्ग वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीले कोलकाताका होटल संचालक निक्की जोगाईलाई समेत पक्राउ गरेको छ ।

व्यावसायिक रुपमै जुवाखालमा बस्ने मध्ये अधिकांश नेपालका उच्च व्यापारिक घरानाका सदस्य हुन् । जसमध्ये अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत तथा विशाल ग्रुपका संचालक हुन् । यस्तै, रामचन्द्र संघाई त्रिवेणी ग्रुपका संचालक र एनआईसी एशिया बैंकको निर्देशक हुन् ।

प्रहरीका अनुसार उनीहरु गोप्य कोठामा क्यासिनोमा प्रयोग हुने विभिन्न दरका चिप्सको प्रयोग गरेर जुवा खेलिरहेका थिए । ५० देखि १ हजारसम्मका १७९ चिप्स र २ लाख ७७ हजार नगद समेत प्रहरीले बरामद गरेको छ ।०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *