नेपालको संशोधित नक्सा सार्वजनिक, भारतमा खैलाबैला, सत्ताधारी दलभित्र जस लिने होडबाजी

काठमाडौँ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको संशोधित नक्सा वुधबार सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरिएको हो ।

गएको सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले यो नक्सा पेश गर्नु भएको थियो । मन्त्रिपरिषद्ले नक्सा सोमवारै पारित गरेपनि आज मात्रै औपचारिक रुपमा सार्वजनिक गरिएको हो । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

गएको जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताउनुभयो ।

उहाँले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताउनुभएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना भएको थियो ।

त्यस्तै, भारतीय सेना प्रमुखले नेपाल सरकार अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेका छन् भने भारतीय सञ्चारमाध्यमहरुले नेपाल चीनको उक्साहटमा लागेको भनी समाचार प्रसारण गरिरहेका छन् । तर, यता सत्ताधारी दलभित्र नक्साको विषयलाई लिएर जस लिने होडबाजी चलेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *