तातोपानी भन्सारको अवरोध खुलाउन पहल

रसुवा । सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ ।

स्थानीयवासीले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौँ जान नदिने बताउँदै भन्सारमा धर्ना दिएका थिए । अवरोधका बीच तातोपानी सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मङ्गलबार काठमाडौँ पठाइएको छ । आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौँ पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । मङ्गलबार लसुनका तीन गाडी रस्याउका चार कन्टेनर काठमाडौँ पठाइएको हो ।

आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौँ भनेपछि कन्टेनरहरु सहजरूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको प्रमुख खत्रीले बताउनुभयो ।

घरघरमा राहत बाँड्दै बाह्रबिसेका प्रमुख

लकडाउनका कारण छाक टार्नै नसकिरहेकालाई घरघरमा पुगेर राहत वितरण शुरु गरिएको छ । अतिविपन्न र ज्यालादारी गरेर जीवन धानिरहेकाहरु समस्यामा परेपछि बह्रबिसे नगरपालिकाले टोलटोलमा पुगेर खाद्यान्न राहत वितरण शुरु गरेको हो । मङ्गलबार बाह्रबिसे नगरपालिका–१ स्थित दुर्गम क्षेत्र घोर्थलीमा विपन्नका आँगनमै पुगेर प्रमुख निमफुन्जो शेर्पाले खाद्यान्न प्रदान गर्नुभयो ।

मङ्गलबार घोर्थलीका विपन्न र श्रमिक मजदुर गरी ६८ परिवारलाई ३० किलोग्राम चामलसहित दाल, नुन र खानेतेल प्रदान गरिएको छ । ट्रकमा खाद्यान्न लगेर उनीहरुलाई घरआँगनमै वितरण गरिएको थियो । वडास्तरमा वडाध्यक्षको नेतृत्वमा एक वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र वडा सचिव सम्मिलित समिति बनाएर विपन्न र मजदुरको पहिचान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *