काेराेना नदेखिएपछि ६ जना भारतीयलाई डिस्चार्ज गरी क्वारेन्टाइन पठाइयाे

विराटनगर । कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जना भारतीय निको भएर बुधबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते उनीहरु अस्पताल भर्ना भएका थिए । उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार भईरहेको छ ।

अस्पतालले १३ जना संक्रमित अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि दोस्रो र तेस्रो स्वाब संकलन गरेर परीक्षण गर्दा समेत ६ जनामा नेगेटिभ नै देखिएपछि उनीहरुको डिस्चार्ज गर्न सिफारिस गरिएको फिजिसियन डा.दिपक सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । उनीहरु भारतीय नागरिक भएका कारण विराटनगर रानीस्थित मदर्सामा राखेर अवस्था निगरानी गरिने भएको छ । सामान्य अवस्था रहिरहे १४ दिनपछि एउटा आरडिटी परीक्षण गरेर उहाँहरुलाई कोरोना भाइरस मुक्त प्रमाणपत्र दिनेछौं, डाक्टर सिग्देलले भन्नुभयो, कुनै समस्या बीचमा देखिए तत्काल परीक्षण हुनेछ ।

अस्पतालबाट डिस्चार्ज गरिएका विरामीलाई विदाई तथा शुभकामना दिन आउनु भएका प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुनः संक्रमण देखिने क्रम बढेका कारण डिस्चार्जपछि सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताउनुभयो ।

भारतीय नागरिकहरु भएका कारण पूर्ण रुपमा आराम भएपछि र बन्दाबन्दीको अवस्था अन्त्य भईसकेपछि मात्रै पठाइने मन्त्री घिमिरेको भनाई थियो । विराटनगर कोभिड–१९ मा भर्ना भएकामध्ये ६ जना डिस्चार्ज भएसँगै अझै २५ जना संक्रमित अस्पतालमा रहेका छन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहनु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *