थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बारा र पर्सामा थप तीन जना कोरोना संक्रमित भेटिएको जानकारी दिनुभयो । संक्रमित हुनेमा पर्साका ४६ वर्षीय एक पुरुष तथा बाराका ३१ र ४३ वर्षीय दुई पुरुष रहेको उहाँले बताउनुभयो ।

केही समयअघि भारतको नयाँदिल्लीबाट फर्किर सिमराको क्वारेनटाइनमा बस्दै आएका उनीहरुको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा स्वाव परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको उपचार नारायणी अस्पताल वीरगञ्जमा भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ११ हजार ५ सय २४ जनाको पीसीआर र ४५ हजार ६ सय ६५ जनाको आरडीटी विधिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ, भने १६ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको आशंकामा रेड जोनमा रहनेको संख्या ३ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *