सुत्केरीलाई रातो भाले

धनकुटा । पाख्रिबास नगरपालिका–३ की १७ दिने सुत्केरी इन्दिरा थापाले घरभरि पाहुना आएपछि अनौठो मानिन् । अझ पाहुनाले रातो भाले र उपहार दिंदा उनलाई माइती नै आएजस्तो लाग्यो ।   पाख्रिबास नगरपालिकाले यसै महिनादेखि सुरु गरेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रमअन्तर्गत जनप्रतिनिधि र स्वास्थ्यकर्मीलगायतको टोली उनको घरमा पुगेको थियो ।

इन्दिराका पति राजु थापाले घरैमा आएर जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चासो राख्दा खुसी लागेको बताए । सुत्केरीको घरैमा गएर रातो भाले, पोषणयुक्त खानेकुरा र न्यानो लुगा वितरणको सुरुवात गर्न टोली इन्दिराको घरमा पुगेको थियो । नगरप्रमुख बिर्खबहादुर राईले यो अभियानअन्तर्गत घरैमा बच्चाको जन्मदर्ता र स्वास्थ्य परीक्षणसमेत गर्न थालिएको
जानकारी दिए । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

यस्तो कार्यक्रमले स्थानीय खुसी छन् । बस्तीमा कोही सुत्केरी हुनासाथ स्थानीयले जनप्रतिनिधिलाई खबर गरिहाल्छन् । शिशु र सुत्केरीलाई कुपोषण अनि रक्तअल्पताको अवस्था आइनपरोस् भनेर यस्तो कार्यक्रम थालिएको उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् ।

‘बालबालिका ‘भोलिका कर्णधार’ भएकाले नवजात शिशुलाई लक्षित गरी कार्यक्रम थालिएको हो,’ उनले भनिन्। बच्चालाई हुर्काउन आवश्यक पर्ने आमाको दूधका लागि समेत पोषिलो खाना जरुरी रहेकाले पोषणयुक्त खानेकुरा घरैमा गएर वितरण गर्न थालिएको छ । नगरपालिकाले थालेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रममा इन्दिराकी छोरी सोफीलाई नगरको पहिलो सन्तानसमेत घोषणा गरियो। उपप्रमुख तिम्सिनाले भनिन्, ‘बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको साथमा हामी सँगसँगै हुनेछौं ।’ अन्य शिशु तथा सुत्केरीलाई पनि यसै साताभित्र कुखुरा र पोषणयुक्त खानेकुरा वितरण गरिने नगरपालिकाका प्रमुख राईले बताए । सुत्केरीका लागि नगरपालिकाले रातो भालेसहित ५ हजार रुपैयाँसम्मको खानेकुरा वितरण गर्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *