पाण्डुकेश्वर गुफासम्म पुग्न पर्यटकीय पदमार्ग निर्माण

कौरव खत्री
बागलुङ । बागलुङको गलकोट नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिन्छ । गलकोट नगरपालिकामा धेरै यस्ता महत्वपूर्ण स्थलहरु रहेका छन् । साथै विस्तारै पुर्वाधार विकाससँग सँगै प्रचार प्रसार हुन थालेपछि अहिले विभिन्न स्थानहरु आन्तरिक पर्यटकहरुको रोजाईमा परेका छन् ।

त्यस्तै मध्यको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो गलकोट नगरपालिका ७ र ९ को सिमाना न्याय खोलामा स्थित पाण्डुकेश्वर गुफा, याे आफैमा विचित्र खालको छ । गुफामा आफ्नै धार्मिक एवं ऐतिहासिक महत्व रहेको गुफामा परापूर्वकालमा बालाचतुर्दशीमा श्रदालु भक्तजनहरुको घुँईचोसमेत हुने गर्दथ्यो ।

गुफाभित्र विभिन्न प्रकारका कलात्मक आकृतिहरु र गुफाभित्र जति मानिस जान्छन त्यति नै पानीका लहराहरु झर्ने र गुफाभित्र गाईका थुन, सर्पको जस्तो अनौठा आकृतिहरु रहेका छन् । गुफामा पूजा आरधना पनि गर्ने प्रचलन छ । पाण्डुकेश्वर गुफालाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले गलकोट नगरपालिकाले पहल थालेको छ ।

गलकोट नगरपालिका वडा नं ९ ले बाँसखोला विशारे बुटा देखि गुफा सम्म झण्डै साढे २ किलोमिटर पदमार्ग निर्माण गरेको छ । यसको लागि वडा नं ९ ले ५ लाख खर्च गरेको वडा अध्यक्ष तेज बहादुर थापाले जानकारी दिए । साथै वडा अध्यक्ष थापाका अनुसार पहिले साँघुरो र निकै अप्ठ्यारो गोरेटो बाटोमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेको तर अहिले पदमार्गको निर्माणसँगै आवत जावतमा सजह भएको बताए । ।

मध्यपहाडी लोकमार्गसँग जोडिएको बाँसखोलादेखि माथि गाउँसम्म कच्ची सडक पुगेको र अब गुफा नजिकसम्म सडक पु¥याउन वडाले आवश्यक तयारी समेत गरिरहेको वडा कार्यालयले जनाएको छ ।

त्यस्तै पाण्डुकेश्वर गुफासम्म पुग्न गलकोट नगरपालिका वडा नं ७ मल्मले समेत पदमार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को २ लाखमा पाण्डुकेश्वर गुफादेखि टिमलेचौर र ०७६÷०७७ को २ लाख रकमबाट टिमलेचौर देखि सिद्वेश्वर शिवालय मन्दिरसम्म झण्डै २ किलोमिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए ।

गुफासम्म पुग्न बाटो अप्ठ्यारो र जोखिमपूर्ण भएको हुदा आवत जावतमा समेत कठिन रहेकोले अब भने पदमार्ग निर्माणले सहजता भएको अध्यक्ष थापाको भनाई छ । गुफा नजिक झण्डै ५० मिटर बाटो अहिले पनि निकै अप्ठ्यारो रहेकोले त्यसलाई आगामी आर्थिक वर्षमा गलकोट नगरपालिका सँगको सहकार्यमा रेलिङ सहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

गुफाको नजिक झरना समेत रहेको हुँदा त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई रमाउन थप सुविधा प्रदान गरेको छ । मल्म पाण्डवखानी सडकको यात्रापछि नाच्ने डाँडामा पुगेपछि करिव १० मिनेटको पैदल यात्रा भएर पाण्डुकेश्वर गुफा पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *