मनकारी जनप्रतिनिधि : रामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा

पाल्पा । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चनुभएको छ । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताउनुभयो । “आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हँु”, नगर प्रमुख थापाले भन्नुभयो ।

जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गर्नुभएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *