बागलुङ गलकोटमा एनटीसीकाे फोरजी सेवा सञ्चालन

कौरव खत्री
बागलुङ । नेपाल टेलिकमले आईतबारदेखि ताराखोला गाउँपालिका १ अमरभुमिमा नव निर्मित नमस्ते मोवाईल टावरबाट फोर जी सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गर्दै ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ मोवाईल डेटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले बताए ।

फोर जी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताले उच्च गतिको मोवाईल डेटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन । फोर जी सेवा सुचारु भएपछि ताराखोला गाउँपालिकाको वडा नं १ अमरभुमि, वडा नं २ अर्गल, वडा नं ३ हिल र गलकोट नगरपालिका ५ टेउवाका मोवाईल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने वरिष्ठ ईन्जिनियर शर्माको भनाई छ । नेपाल टेलिकमले चौंथो पुस्ताको मोवाईल सेवालाई अहिले देशभर विस्तारको कार्यलाई तिव्रताका साथ अगाडी बढाएको छ ।

फोर जी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन गईरहेको अन्तराष्ट्रिय मुर्तिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।

गलकोट नगरपालिका ५ हरिचौर टेउवामा ईतिहाँसमै पहिलो पटक अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला सञ्चालन हुँदै छ । कार्यशालामा ५ स्वदेशी सहित १० विदेशी मुर्तिकारहरुको सहभागिता हुँदै छ ।

गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरिएको हो । त्यहाँ पुग्ने पर्यटकहरुलाई ईन्टरनेटको पहुँचमा सहज तरिकाले जोडन टेलिकमले फोर जी सेवा शुभारम्भ गरेको हो । यसको विस्तार सँगै टेलिकमका उपभोक्ताले ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका भु(भागमा उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेट सहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो ।

वरिष्ठ इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले फोर जी सेवा लिन आफ्नो मोवाईलमा स्टार ४४४ मा डायल गरि विभिन्न सस्तो दरमा प्याकहरु खरिद गर्न सक्नेछन । फोर जी आफनो सिमकार्डमा सुचारु भएको या नभएको थाहा पाउन मोवाईलमा ८३४ डायल गर्नुपर्ने हुन्छ ।

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल, च्याट सँगै ईन्टरनेटका विभिन्न सेवा सुविधा लिन सक्नेछन । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *