कर्णालीमा कर्मचारीको सेवा–सुविधामा विशेष व्यवस्था गरिने

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’ निर्माणको अभिभारा प्रदेशसभाको काँधमा आएको बताउनुभएको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रदेश सरकारलाई जनउत्तरदायी बनाउनाका साथै सक्रिय विधायिकीय जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभा र प्रदेश सरकारलाई सबैभन्दा विकट एवं पिछडिएको कर्णालीलाई समृद्ध बनाउने चुनौती रहेको बताउँदै भन्नुभयो, “प्रदेश सरकारले स्थानीय तहसमेतको सहभागिता र अपनत्व हुनेगरी विकास निर्माणका आयोजजना सञ्चालन गर्नुपर्दछ ।”कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कर्मचारीलाई बस्ने वातावरण मिलाउन सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेको जानकारी दिँदै प्रदेश निजामति ऐन निर्माण गर्दा सम्पूर्ण कर्मचारीको सेवा–सुविधामा विशेष व्यवस्था गरेर आकर्षणको केन्द्रविन्दु बनाइने बताउनुभयो ।

सभामुख राजबहादुर शाहीले संसदीय कामकारवाहीमार्फत प्रदेश सरकारलाई निगरानी गर्ने काम भइरहेको तथा प्रदेशसभा कानून निर्माणमा नागरिकसँग जोडिन भिडियो कन्फरेन्सिङ विधि अपनाएको बताउनुभयो । विपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा स्थापना दिवसमै प्रदेशसभा सदस्यको उपस्थिति न्यून हुनु दुःखद भएको बताउनुभयो ।

उपसभामुख पुष्पा घर्तीले प्रदेश स्थापनामा कर्णालीवासीको सङ्घर्षको स्मरण गर्दै प्रदेशसभा र सरकारले शहीदको सपनालाई भुल्न नहुने विचार व्यक्त गर्नुभयो । स्थापना दिवसमा प्रदेशसभा सचिवालयद्वारा प्रकाशित स्मारिका, विधेयक सङ्ग्रह र प्रदेशसभा सदस्यको परिचय पुस्तिकाको विमोचन गरियो । स्थापनाको दुई वर्षमा कर्णाली प्रदेशसभाले २९ कानून निर्माण गरिसकेको छ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३३, नेपाली काँगे्रसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको दिन २०७४ माघ २१ गतेलाई सचिवालयले स्थापना दिवसका रुपमा मनाएको हो । यस अवसरमा ब्याडमिन्टन, घैंँटो फोड्ने खेलका साथै अन्तक्र्रिया आयोजना गरिएको थियो । विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *