कांग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन, यस्ताे छ महाधिवेशनको परिमार्जित कार्यतालिका

काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ÷नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशनको कार्यतालिका
 गाउँ/नगर वडा अधिवेशन– २०७७ कात्तिक १६ गते
 गाउँ/नगरपालिका अधिवेशन– २०७७ कात्तिक १८ गते
 प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
 एक मात्र प्रतिनिधिसभा सदस्यको क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २३
 एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्तिक २५ गते
 प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
 केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७ देखि १० गतेसम्म ।

परिमार्जित निर्णयअनुसार गाउँ÷नगर वडा अधिवेशन २०७७ कात्तिक १६, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ र एक भन्दा बढी भएकाको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मङ्सिर २९ गते हुनेछ । पार्टीको १४औँ केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएको मिति २०७७ फागुन ७ देखि १० गते काठमाडौँमा नै गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बैठकले यही माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, आगामी फागुनदेखि चैत मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने, २०७७ वैशाख मसान्तभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यसैगरी २०७७ जेठ १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिने, जेठ मसान्तभित्र उजूरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्नेछ ।

विसं २०७७ असार १५ भित्र क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिइसक्नुपर्ने, साउन १५ भित्र उजूरीउपर केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने, साउन २५ भित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाइसक्नु पर्नेछ । साउन मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने निर्णय भएको उहाँले बताउनुभयो ।

पार्टीको विधानबमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति” ले गर्ने कार्यसम्पादन गर्न सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र सभापतिले समितिका संयोजक तथा सदस्यको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय गरिएको छ । पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका दफा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले बताउनुभयो । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे बस्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *