सभामुखको सपथ लिएलगत्तै अग्नि सापकोटाले पार्टीबाट राजीनामा दिए (विज्ञप्तीसहित)

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिनुभएको छ । सभामुखको कार्यभार सम्हालेलगत्तै सोमबार एक विज्ञप्ति निकालेर सभामुख सापकोटाले नेकपाबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम सोमबार सभामुखको पदभार ग्रहण गरेपछि नेकपाको साधारण सदस्यसमेत नरहने गरी सापकोटाले नेकपाबाट राजीनामा दिनुभएको हो ।

सोमबार विज्ञप्ति जारी गर्दै सापकोटाले संसदको प्रतिनिधिसभाको सभामुखको भूमिका स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्ने जानकारी दिनुभएको छ । ‘यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउदँछु’ सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नेकपाको स्थायी कमिटी सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *