ओडारमा भैँसी पालेर छोरालाई डिग्री पढाएकी केटरीका कान्छा छोरा लोकसेवामा पास

बैतडी । गरीबीका कारण बसाई सर्न नसकेर ओडारमा भैँसी पालेर छोरालाई डिग्री पढाएकी केटरी बोहराका छोराले लोकसेवामा नाम निकालेका छन् । बैतडीको पाटन नगरपालिका–७, कैलपालकी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई स्नाकोत्तरतहसम्म पढाउनुभएको थियो ।

ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ । खड्कसिंहले एक महिनाअघि लोकसेवा आयोगबाट प्रशासन सहायक पाँचौं तह पास गरेर डडेल्धुराको आमरगढी नगरपालिकामा सेवा सुरु गर्नुभएको छ । खड्कसिंहले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ ।

लाकेसेवा पास गरेर आमाको आर्शिवाद लिन डडेल्धुराबाट घर पुग्नु भएका खडकसिंह बोहराले आमाले ओडारमा भैंसी पालेर आफुलाई हुर्काउने र पढाउने काम गरेको कुरा शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।

जेठो छोरा शेरसिंह बोहराले पनि त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा मास्टर डिग्री गरेर गाउँकै माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्छ । केटरी बोहरा आफू निरक्षर हुनुहुन्छ । नागरिकतामा नारुदेवी नाम भए पनि उहाँको परिचित नाम भने केटरी छ । उमेरले छ दशक पुग्न लाग्नुभएकी केटरी बोहरा अहिले पनि ओडारमै भैंसीको स्याहार गरिरहनु भएको छ ।

खेतबारी नभएपछि केटरी बोहराको जीवन कालमा तीन ठाउँमा बसाँइसराइ गरेर लेकमा भैंसी पालेर अर्काको खेत अधियाँमा काम गरेर छोराहरुलाई पढाएको केटरी बोहरा बताउनुहुन्छ । केटरी बोहराको परिवारको पुर्खौली घर पाटन नगरपालिका–५, बसन्तपुर हो । त्यहाँ खान लगाउन नपुगेपछि बोहरा परिवार २०३५ सालमा पाटन नगरपालिका–१, डैसीली गाउँको लेकतिर लाग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *