प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकाेटा निर्विरोध निर्वाचित

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्नि प्रसाद सापकोटा र्निविरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो “यससभाका माननीय सांसद श्री अग्नि प्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकोले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम माननीय श्री अग्नि प्रसाद सापकोटा र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।”

अध्यक्ष ठाकुरले र्निविरोध निर्वाचित भएकोमा प्रतिनिधिसभा र आफ्नो तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै हार्दिक बधाई पनि दिनुभयो ।

यसअघि सभामुख पदमा सापकोटालाई प्रस्ताव गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सिंगो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका पुरा गर्नुहुनेछ भन्ने विश्वास आफुले लिएको बताउनुभयो । नेम्वाङ्गले अग्नि प्रसाद सापकोटालाई सभामुख पद मा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।

प्रस्तावको समर्थन गर्दै सांसद घर्तीले सर्वसम्मतिको वातावरणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न संविधान कार्यान्वयन र राष्ट्रका जल्दा बल्दा मुद्दाहरुमा सबै दललाई एकै ठाउँमा उभ्याउने अवस्था श्रृजना भएको बताउनुभयो । यस्तो अवस्था निर्माण हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अझै सहज हुने आफुले विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो । सभामुख पदमा सापकोटालाई सर्वसम्मतिको वातावरण बनाउन सहयोग पुर्याएकोमा उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दलहरुलाई धन्यवाद पनि दिनुभयो ।

प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आईतबार सभामुख पाएको हो । कृष्ण बहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *