आज सोनाम ल्होसार हर्षोल्लासकासाथ मनाइँदै

काठमाडौँ। तामाङ समुदायको महान् चाड सोनाम ल्होसार शनिबार उत्सवका रूपमा मनाइँदैछ । सोनाम ल्होसार मनाउने समुदायका हरेक घरमा उमङ्गका साथ पर्व मनाउन आवश्यक तयारी गरिएको छ । नयाँ लुगाफाटा किन्नेदेखि घर टोलको सरसफाइ, खानपानको व्यवस्थापन, घरमा नयाँ दज्र्यू फेर्ने, पुरानो हिसाबकिताब मिलानसम्मका काम सकेर नयाँ वर्ष हर्ष र उल्लासमय बनाउने तयारी सकिएको छ ।

करिब एक सय तामाङ सङ्घसंस्थाको सहभागितामा गठित राष्ट्रिय सोनाम ल्होसार मूल आयोजक समितिका अध्यक्ष मोहन गोलेले ल्होसार सांस्कृतिक पर्व मनाउने तयारी पूरा भएको जानकारी दिँदै सङ्घीय सरकारले आदिवासीका पर्वमा बिदा कटौती गरेकोमा दुःख लागेको बताउनुभयो । समुदायको महान् चाड मनाउन पनि हतारहतार गर्नुपर्ने बाध्यतामा हामी परेका छौँ भन्नुभयो ।

शनिबार र आइतबार माघ ११ र १२ गते टुँडिखेलमा सोनाम ल्होसार– २८५६ (जिवा र नाम्युङ ल्हो) तथा तामाङ सांस्कृतिक महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्ने सबै तयारी सकिएको उहाँले बताउनुभयो । यस सांस्कृतिक पर्व घरघरमा मात्र होइन, सार्वजनिक चोक, गल्ली, चौरमा पनि मञ्च बनाएर सांस्कृतिक प्रस्तुतिसहित मनाउने प्रचलन बाक्लिएको छ ।

उहाँका अनुसार ल्होसार भनेको नयाँ वर्ष हो । तामाङ समुदायको यस दिन वर्ग (ल्हो) बदलिन्छ । समुदायको वर्ष गणना नै वर्गअनुसार हुन्छ भन्नुहुँदै अन्तर्राष्ट्रिय चन्द्र पात्रो निर्धारण समितिका संयोजक खेन्पो गुरु सोनाम ग्युर्मे तामाङले यस वर्षको ल्हो फिर्ने पहिलो दिन माघ ११ गते परेको बताउनुभयो । विशेषगरी टुँडिखेलमा दुईदिने कार्यक्रमको आयोजना गरी खाना, भेषभूषा, डम्फु, पुस्तकलगायतका विविध स्टल राखी ल्होछार मनाइँदैछ । कार्यक्रममा तामाङ मौलिक एवं लोपोन्मुख नृत्य, गीतको प्रस्तुति पनि रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *